दाताहरूको सम्मान तथा अभिन्नदन कार्यक्रम

Sep 04, 2022

दाताहरूको सम्मान तथा अभिन्नदन कार्यक्रम

एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालका दाताहरूको सम्मान तथा अभिन्नदन कार्यक्रम भव्यताको साथ सम्पन्न

एक एक पाइला ठोकर्पा आधारभूत अस्पताललाई वर्तमान अवस्थासम्म ल्याइपुर्याउन विभिन्न व्यक्ति, सङ्घसंस्थाहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ । उहाँहरूको सोही योगदानलाई उच्च कदर गर्दै भाद्र १८, २०२२ गते एक एक पाइला फाउण्डेशनले एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालको प्राङ्गणमा दाता सम्मान तथा अभिन्नदन कार्यक्रम आयोजना गर्यो । जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी वर्ग, आयुर्वेदिक संस्था, महिला समुह, युवा क्लब र गाउँबासीहरूको उपस्थितिमा आयोजन गरिएको अभिन्नदन कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । अशोक पाण्डको उद्घोषणमा सञ्चालन गरिएको झण्डै दुई घण्टा लामो कार्यक्रममा विभिन्न गतिविधिहरू समावेश गरिएको थियो ।

प्रमुख अतिथि वडा अध्यक्षले पानसमा बत्ती बाली कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। एक एक पाइलाका उपाध्यक्ष प्रा.डा. सुधांशु केसीले कार्यक्रममा उपस्थित सबैलाई आफ्नो मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । त्यसैगरी, एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालको पृष्ठभूमिबारे एक एक पाइला फाउण्डेशनको तर्फबाट संयोजक डा. सबिना भट्टराईले निकै हृर्दयस्पर्शी मन्तव्य राख्नुभएको थियो । उहाँले उक्त स्थानमा अस्पताल निर्माणको सपनादेखि अस्पताललाई वर्तमान अवस्थासम्म ल्याईपुर्याउन पछिल्ला दश वर्षदेखि आफू लगायत व्यवस्थापन समितिले सामना गर्नुपरेको आरोह-अवरोहहरूको निकै मार्मिक चित्रण गर्नुभएको थियो ।

कार्यक्रममा दाताहरूले पनि आफ्ना मन्तव्य राख्नभएका थियो । अस्पताललाई सहयोग गर्न पाएकोमा अत्यन्तै खुसी लागेको साथै आगामी दिनहरूमा पनि अस्पताललाई यसगरी आफ्नो सहयोग र साथ रहिरहने प्रतिबद्धता दाताहरूले दिनुभएको थियो ।

दाताहरूलाई सम्मानस्वरुप खादा लगाउने एवम् मायाको चिनो प्रदान गरेपश्चात कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरूले पनि आफ्ना मन्तवयहरू राख्नुभएको थियो । अस्पतालको निर्माण र सञ्चालनपछि स्वास्थ्य क्षेत्रमा सुनकोशी गाउँपालिका बासीहरूलाई मात्र नभई वरपरका पाँचभन्दा बढी गाउँपालिकाका मानिसहरूलाई राहत पुगेको बताउनुभएको थियो ।

कार्यक्रमको सभापति तथा एक एक पाइला फाउण्डेशनका अध्यक्ष प्रा.डा सुमन शम्शेर थापाले कार्यक्रमको विसर्जन गर्नुभएको थियो ।

यसका अतिरिक्त, दाता तथा जनप्रतिनिधिहरूलाई अस्पताल परिसर घुमाउने लगायत अस्पतालले प्रदान गर्ने सेवाहरूबारे जानकारी दिने कार्यसमेत भयो ।

कार्यक्रममा अझ उत्साह थप्न, कार्यक्रमको अन्त्यमा ब्लू फ्रेट ब्यान्डको सांगीतिक प्रस्तुति पनि समावेश गरिएको थियो ।

यस कार्यक्रमको अपार सफलताका निम्ति हामीसँग समन्वय गर्नुहुने समस्त महानुभाबहरू लगायत कार्यक्रमलाई प्रत्क्षय प्रसारण गर्न सहयोग पुर्याउने प्राविधिक समुहप्रति एक एक पाइला फाउण्डेशन विशेष आभार व्यक्त गर्दछ ।

 

Support us with a contribution and help us make a difference.