एक एक पाइलाको ३४औं पाइला कालीकोटमा

Apr 11, 2025

एक एक पाइलाको ३४औं पाइला कालीकोटमा

एक एक पाइलाको ३४औं पाइला कालीकोटमा


काठमाडौं । एक एक पाइला अभियानले आफ्नो १० औं सेवा वर्षको अवसरमा कर्णाली प्रदेशको दुर्गम क्षेत्र नरहरिनाथ, कालीकोटमा ३४ औं पाइला कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। 

तीन दिनसम्म सञ्चालन भएको यो स्वास्थ्य शिविरमा जम्मा  तीन हजार ४३६ जना बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचार गरिएको छ। यो सेवाले दुर्गम बासिन्दाहरूमाझ सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धतालाई थप बलियो बनाएको एक एक पाइलाले जनाएको छ।

एक एक पाइला भूकम्पलगत्तै केही चिकित्सकको अग्रसरतामा बनेको एक सेवामूलक संस्था हो ।

 

कार्यक्रममा सामान्य चिकित्सा, नेत्र रोग, दन्त सेवा, महिला स्वास्थ्य, छाला रोग, बालरोग, रेडियोलोजी, प्रयोगशाला सेवा लगायतका धेरै बिभागबाट सेवा प्रदान गरिएको थियो। साथै, मोतिबिन्दु, टिम्प्यानोप्लास्टी लगायतका शल्यक्रियाहरू पनि सफलतापूर्वक सम्पन्न गरिएको चिकित्सक डा. सुधांशु केसीले जानकारी दिए ।

सामान्य मेडिसिन विभागबाट ९४० जना बिरामीको जाँच गरिएको थियो भने  त्यहाँ दम रोग (श्वासप्रश्वाससम्बन्धी समस्या) अत्यधिक मात्रामा देखिएको छ, जुन स्थानीय बासिन्दाहरूको प्रमुख स्वास्थ्य समस्या हो ।

"त्यसैगरी, मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरूलाई खासै ध्यान दिइएको पाइएन, जुन चिन्ताको विषय हो," उनले भने, "निजी सरसफाइ, विशेषगरी मुख स्वास्थ्य निकै कमजोर रहेको देखियो, जसले दन्त तथा मुख रोगहरू बढाएको छ ।

त्यस क्षेत्रका धेरै बालबालिकाहरूमा कुपोषणको समस्या देखिएको छ, जसले दीर्घकालीन स्वास्थ्यमा असर पुर्‍याउन सक्छ।"

वंशानुगत रोगहरू पनि धेरै परिवारमा देखिएका छन्, जसले स्वास्थ्य सेवा योजनामा जेनेटिक काउन्सेलिङको आवश्यकता देखाएको जनाइएको छ ।

शिविरमा विभिन्न अंगहरूमा ट्युमर (हानिरहित र क्यान्सर दुवै प्रकार) भएका बिरामीहरू पनि भेटिए, जसले प्रारम्भिक जाँचको आवश्यकतालाई देखाएको छ ।

"बालविवाह, चाँडो सन्तान र धेरै सन्तान जन्माउने प्रवृत्ति अझै पनि व्यापक रहेको देखियो, जसले महिलाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ," शिविरका क्रममा चिकित्सकले निकालेको निष्कर्ष थियो ।

शिविरमा जाँच गरिएका बिरामीहरूमा हेपाटाइटिस बीको संक्रमण दर अपेक्षाकृत न्यून देखिएको थियो, जुन यो क्षेत्रका लागि सुखद संकेत भएको डा. केसीले जानकारी गराएका छन् ।

त्यसैगरी, कलेजोसम्बन्धी रोगहरू, विशेष गरी दीर्घकालीन लिवर रोगका बिरामीहरूको संख्या पनि न्यून देखिएको थियो ।

"मद्यपानजन्य स्वास्थ्य समस्या अपेक्षाकृत कम मात्रामा भेटियो, जसले जनचेतनाको प्रभाव देखाउँछ," उनले भनेका छन्," फ्याट्टि लिभरको समस्या पनि न्यून देखिएको छ, जुन अन्य क्षेत्रको तुलनामा आशाजनक मान्न्न सकिन्छ । यस्तै गरी, मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर) का बिरामीहरू पनि तुलनात्मक रूपमा कम थिए, जसले समग्र जीवनशैली केही हदसम्म सन्तुलित भएको संकेत दिन्छ ।"

एन्डोस्कोपी सेवाबाट १८ जना बिरामीको ग्याष्ट्रोस्कोपी गरिएको थियो ।  नेत्र सेवा अन्तर्गत ७९९ जना बिरामीको आँखाको परीक्षण गरियो। जसमा मोतिबिन्दु रोगीहरूलाई चिनिँदै, १०८ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो।

हाड जोर्नी विभागमा ७१९ जना बिरामीले सेवा लिएका थिए ।

कान, नाक, घाँटी (ENT) सेवामा ५९५ जना बिरामीको जाँच गरिएको थियो । यसमध्ये २२ जनामा एन्डोस्कोपिक सर्जरी गरिएको थियो, जसमा १८ जना बिरामीमा टिम्प्यानोप्लास्टी (कानको पर्दा बनाउने सर्जरी) गरिएको थियो।

छालासम्बन्धी सेवा अन्तर्गत ३९३ जना बिरामीको जाँच गरिएको थियो। विभिन्न प्रकारका र्‍यास, एलर्जी, संक्रमण लगायतका समस्याहरूको परीक्षण र उपचार गरिएको जनाइएको छ ।

दन्त सेवामा ३८१ जना बिरामीले सेवा लिए। यसमध्ये २२१ जनाको दाँत झिकाइ र २६ जनाको दाँतको जगेर्ना गरिएको थियो।

स्त्रीरोग विभागबाट ३६८ जना महिलाहरूलाई सेवा दिइयो ।  गर्भाशय मुखको क्यान्सर स्क्रिनिङ, थर्मोकोएगुलेसन, बायोप्सी, साना शल्यक्रिया, परामर्श, र स्यानिटरी प्याड वितरणजस्ता कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।

सामान्य शल्यक्रिया विभागमा २६७ जना बिरामीको साना शल्यक्रिया र बायोप्सी गरिएको थियो। रेडियोलोजी सेवाअन्तर्गत २७४ वटा अल्ट्रासाउन्ड गरिएको जनाइएको छ ।

यस सेवाबाट विभिन्न अंगहरूमा ट्युमर (हानिरहित र क्यान्सर दुवै प्रकार) फेला पार्न सफल भएको र  बिरामीहरुलाई संबन्धित ठाउँमा रिफर गरिएको थियो ।  साथै, थुप्रै बिरामीहरूको चेस्ट एक्स-रे पनि गरिएको थियो, यद्यपि त्यसको सङ्ख्या फरक रूपमा अभिलेखित गरिएको छैन।

News Link : https://baahrakhari.com/detail/448698?fbclid=IwY2xjawMVRAdleHRuA2FlbQIxMQABHs4szTr1UNlFCzFjLTz7NYuoVwCFyUp9SlMZ-GrsekigkvlXs0UfbsVRpGF8_aem_YScA5JZwS7tAaJKtio4jeA

बाह्रखरी बाट साभार  

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१

Support us with a contribution and help us make a difference.